अनावश्यक लिङ्क नखाेल्न आग्रह
नेपाल दूरसंचार प्राधिकरणले नेपालमा मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण रोक्न तथा यसको प्रयोगलाई सुरक्षित र थप व्यवस्थित गर्नको लागि Mobile Device Management System (MDMS) प्रणाली सञ्चालनमा ल्याएको छ।
यस प्रणालीबाट चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न सकिने प्राधिकरणको सूचनामा उल्लेख गरेको छ । २०७९ भाद्र ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याईएका मोबाइल सेट लगायत उक्तको मितिसम्म चालु रहेका सबै मोबाइल सेटहरु स्वतः MDMS प्रणालीमा दर्ता हुनेछ । त्यस पश्चात मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको MDMS प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको एकिन गरी मात्र खरिद गर्नु हुन अनुरोध गरेको छ। साथै मोबाइल आयातकर्ता/विक्रेताहरुले मोबाइल आयात गर्नु अघि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र विक्री वितिरण गर्न अनुरोध गरेको छ ।
यसरी मोबाइल फोन दर्ता गर्दा राज्यले प्राप्त गर्ने राजश्व वृद्धि हुनेछ र मोबाइल फोन सुरक्षित हुनेछ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेट वक्तव्यमा पनि एमडीएमएसबाट अवैध मोबाइल सेट प्रयोग नियन्त्रणमा आउने र मोबाइल प्रयोग गरी हुने आपराधिक गतिविधि समेत नियन्त्रण हुने विश्वास लिएको उल्लेख गरिएको थियो। यद्यपि यसले बजारमा आउन सक्ने नक्कली सामानको आयात पनि निरुत्साहित हुनेछ। त्यस्तै आईएमईआई नम्बर दर्ता भएको अवस्थामा सरकारले मोबाइलबाट भएको कुराकानी ट्र्याक (कहाँबाट सञ्चालन भइरहेको छ पहिचान) गर्न नसक्ने तर मोबाइल वा मोबाइल फोन बोकेको व्यक्ति भने सजिलै पत्ता लगाउन सकिनेछ।
फोन दर्ता गर्नको लागि प्राधिकरणका अनुसार मोबाइल फोन प्रयोगकर्ताहरूले आफ्नो वेबसाइटमा (nta.gov.np)मा गएर आफूले प्रयोग गरिरहेको सेट दर्ता गर्न सक्छन्। वेबसाइटमा उपलब्ध फारममा आफूले प्रयोग गरिरहेको मोबाइलबाट *#06# थिचेपछि प्राप्त हुने आईएमईआई नम्बर उल्लेख गर्नुपर्ने हुन्छ। त्यसबाहेक त्यहाँ नागरिकता वा राहदानी नम्बरसहित विभिन्न किसिमका व्यक्तिगत विवरणको माग गरिएको हुन्छ।

यसैगरी विभिन्न सामाजिक सञ्जालहरू भाइवर, म्यासेन्जर, ह्वाट्सएप, इमो, विचाट जस्ता एप्सहरुमा नेपालको राष्ट्रिय झन्डा, प्राधिकरण तथा सेवा प्रदायकको लोगो समेतको दुरुपयोग गरी प्रलोभन युक्त तरिकाले पुरस्कार परेको भनि म्यासेज पठाई सेवाग्राही लाई प्रलोभनमा पार्ने र यसरी प्रलोभनमा परी अपरिचित व्यक्तिको सम्पर्कमा पुगी आफ्नो नाम, मोवाईल नम्बर, बैंक खाता लगायतको जानकारी दिई उपभोक्ताहरु ठगिएको पाइएको छ । अत: यस्ता प्रलोभनमा
नपरी यस सम्बन्धी म्यासेज तथा यससँग आउने लिंक नखोल्न प्राधिकरणले उपभोक्ताहरुलाई सूचना मार्फत जानकारी गराएको छ ।
