You are currently viewing धार्मिक पर्यटकको आकर्षण बन्दै सुपा देउराली

धार्मिक पर्यटकको आकर्षण बन्दै सुपा देउराली

लक्ष्मण राना

सुपा देउराली मन्दिर समुन्द्रि सतह देखि झण्डै ४,५०० फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित धार्मिक तथा पर्यटकीय देवीस्थल हो।  सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोटमा रहेको छ । सन्धिखर्क गोरुसिङ्गे लोकमार्गस्थित ४७ किमिको दुरीमा सुपाखोलाको पश्चिम पाउमा नरपानी र फलामे दुई अग्ला महाभारत पहाडबिचको कहालीलाग्दो भीमकाय खोंचमा अवस्थित यो देवी मन्दिर प्राचीन शैलीमा निर्मित छ ।

सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँछ। तराइको सिरसिरे हावा यही सुपाको छेंडो भएर निरन्तर हिमालतर्फ बतासिने भएकोले सुपा देउराली सदावहार उच्च शिखर मानिन्छ। दुईटा फूल र ढुङ्गो चढाएर देउरालीप्रतिको सद्भाव दर्शाउने बटुवाहरूको सनातन परम्परा अक्षरस छ।

यस मन्दिरमा एकाँदशी, औंसी र पूर्णिमाबाहेकका दिनमा भाकल चढाउन सकिन्छ। विशेषतः शनिबारका दिन भाकल चढाउनेहरूको भिड लाग्छ। प्राकृतिक रुपमा पनि मन्दिर क्षेत्र मनमोहक हुनुको साथै पूर्वमा खस्ने झरना र खोलाको आवाजले त्यो बाटो भएर आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाको प्रतीक मानिन्छ। यस मन्दिरमा मनोकांक्षा पूरा हुने विश्वासका कारण दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको छन् । भाकल अनुसार पूजा गरेमा मनको इच्छा पुरा हुने हुनाले यस मन्दिरको महत्त्व दिन प्रतिदिन बढ्दै गएको कुरा यहाँ आउने श्रद्धालु भक्तजनहरूको भिंडले थाहा हुन्छ । विशेषगरी गुल्मी, कपिलवस्तु, पाल्पा, रुपन्देही, प्युठानलगायत देशभर तथा भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् । दिन प्रतिदिन धार्मिक पर्यटकको आकर्षण बन्दै गएको सुपा देउरालीको प्रवर्द्धनमा पर्यटन सम्बद्ध सङ्घ संस्थाले पनि चासो दिन थालेका छन् ।

मन्दिर परिसरबाट हिमाल, पहाड र तराई एकैसाथ देख्न सकिन्छ। यही मन्दिरका कारण अर्घाखाँचीमा आन्तरिक पर्यटन बढ्दै गएको छ। कपिलवस्तुको गोरुसिंगेबाट सन्धिखर्क जाने बाटोमा पर्ने सुपा देउराली आसपासका जिल्लाका आन्तरिक पर्यटकको रोजाईमा पर्दै गएको छ । यस मन्दिरमा पूजाआजा गरिनुका साथै गर्मी समयमा चिसो वातावरणमा रमाउनको लागि आसपासमा तराईका जिल्लाबाट ठूलो संख्यामा पर्यटकहरु आउने गर्दछन् । मन्दिर हातामा विश्रामस्थल र पिउने पानीको सुविधा छ। पर्यटकहरुको बढ्दो चापका कारण मन्दिरका वरिपरि थुप्रै होटल तथा लजहरु संचालनमा रहेका छन् ।

मन्दिर धार्मिक आस्थाको केन्द्र भएपनि, यसको आम्दानीले शैक्षिक क्षेत्रमा समेत राहत पुगेको छ। मन्दिरको भेटीबाट अर्घाखाँचीका दुईटा विद्यालयका एक दर्जन शिक्षकलाई तलब खुवाइन्छ। खाँचीकोटको आदर्श माध्यमिक विद्यालयका पाँच र सीतापुरको शान्ति निम्न माध्यमिक विद्यालयका सात शिक्षकलाई मन्दिरकै आम्दानीबाट तलब खुवाइन्छ। मन्दिरको भेटीको ७५ प्रतिशत रकम विद्यालायमा जान्छ भने बाँकी २५ प्रतिशतले मन्दिर व्यवस्थापन गरिन्छ। मन्दिरकै आयस्रोतको आधारमा नित्य साँझ-बिहान पाठ-पूजा गर्न ब्राह्मणको व्यवस्थासहित अन्य सहयोगीको समेत गरिएको सुपा देउराली मन्दिर एक मात्र जिल्लाको सदावहार मन्दिर हो। भेटीबाटै गरीबलाई आर्थिक सहयोग, छात्रवृत्ति तथा वृद्धवृद्धालाई सहयोग गर्ने गरिएको छ। त्यस्तै सीतापुर र खाँचीकोटमा खानेपानीदेखि सडक विस्तारसम्मका काममा सहयोग गरिएको छ।

वैशाखे पूर्णिमाका दिन पूजा गरिने ठाउँमा विसं २०४० सालमा अर्घाखाँचीका बाबुराम रायमाझीले सामान्य मन्दिर बनाएपछि संरक्षण समिति बनाइएको थियो। त्यसबेलादेखि नित्य पूजा शुरू भएको मन्दिरलाई पछि पुनःनिर्माण गरियो। यसमा अर्घाखाँची निवासी श्रीनरनारायण बाबाले महत्वपूर्ण योगदान गरे। अर्घाखाँचीमै जन्मेका उनले बाबा आश्रम सेवा संस्था मातातीर्थ मार्फत १ करोड रुपियाँको लागतमा मन्दिर पुनःनिर्माण गराए। जस्तापाताले छाएको सामान्य मन्दिरलाई कलात्मक रुपमा पुनः बनाइएको हो। चाहनाअनुसार प्रत्येक यात्रुहरूको इच्छाशक्ति पूरा गराइदिने दैवी शक्तिको केन्द्र पनि हो सुपाको देवी देउराली मन्दिर।

किम्बदन्ती अनुसार

यस प्रसिद्ध धार्मिक मन्दिरको स्थापना कहिले र कसरी भयो भन्ने सान्दर्भमा विभिन्न किम्वदन्तिहरूका आधार र पहरामा लाहुरे टाँसिएको, भगवान रामकी पत्नि सीताले बनाएको चुलो, जाँतो आदीका शिलाहरूबाट त्रेता युग देखि नै यहाँ शक्ति थियो भन्न सकिन्छ । पछि आएर बाइसे चौबिसे राज्यका पालामा खाँचिकोट राज्यका राजकुमार र भारतको बलरामपुरकी राजकुमारी बीच विवाह गरी घर तर्फ ल्याउँदा बाटोमा केही कुरा झुटो बोलेर अथवा ढाँट छल गरेर विवाह गरेको हल्ला दुलहीले सुनिन् । डोलिमा बोकेर ल्याएकी दुलही हाल सुपा देउराली मन्दिर रहेको स्थान भन्दा करिब पचास मिटर दक्षिणमा पुग्दा डोलिबाट रगतको थोपा झरेछ । यो रगतको थोपा देखेर हाल मन्दिर रहेको स्थानमा आएर डोलिमा हेर्दा दुलही मृत अवस्थामा थिइन् । त्यसपछि खाँचिकोट राज्यमा विभिन्न रोग व्याधी र महामारी फैलिएर विभिन्न विध्न वाधाहरू उत्पन्न हुन थाले । एक जना खनाल थरका ज्योतिषलाई बोलाएर धामी (झाँक्री) हेराउँदा त्यस ठाँमा दैविक शक्ति उत्पन्न भएको र कालो पाठी बलि दिनु पर्छ भनेकाले त्यसै समय देखि खाँचिकोट राज्यका राजा ठकुरी राजाका रजौटा खड्का, कब्दार र नेवार थरका समुदायले कुल पूजा गर्दै हालसम्म आएको इतिहास पाइन्छ । त्यही समय देखि यस मन्दिरमा आफ्नो मनोकामना पुर्ण होस् भनेर भाकल गर्ने विभिन्न जिन्सी सुन, धजा, वस्त्र, रातो फूल, माला चढाएर पाठा पाठीको बलिपूजा गर्ने र परेवा उडाउने व्यापक प्रचलन रहेको छ ।

अर्को किंवदन्तीमा खाँची घर भएका एक व्यक्ति धन कमाउन भारत जानुभन्दा अघि सुपामाईसँग राम्रो जागिरको लागि प्रार्थना गर्दै फर्केर आउँदा भेटी चढाउनेछु भनी ढोगी गएछन् । भारत बसाईमा उनले राम्रै धन कमाए । फर्केर आउँदा भेटी नचढाई मन्दिरमाथिको जङ्गलको बाटो हुँदै जान लाग्दा जङ्गलबीच बाटोमा सुपामाईले पहाडको चट्टानमा लाहुरेलाई टाँसेको किंवदन्ती छ । मन्दिरमा दर्शन गर्न आउनेमध्ये अधिकांशले लाहुरे टाँसेको ठाउँ हेरेर फर्कने गर्दछन् ।

स्राेतः विकिपिडिया र स्थानीकाे सहयाेगमा । तस्विरः अनलाइनबाट

Leave a Reply